बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा रहेको ६ लेन सडकको बीच भागमा बिग्रिएको डिभाइडर मर्मत वा हटाउन माग गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ ले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
संघका महासचिव प्रकाश गिरीले उपमहानगरपालिकाका प्रमुखलाई पत्र पठाउँदै मुख्य ६ लेन सडकको बीच भागमा निर्माण गरिएका डिभाइडरहरू धेरै स्थानमा भाँचिएको, अव्यवस्थित र जीर्ण अवस्थामा रहेको उल्लेख गरेका छन् । पत्रमा डिभाइडरमा राखिएका रेलिङ तथा अन्य संरचनाहरू क्षतिग्रस्त हुँदा सडक क्षेत्रको सौन्दर्यमा नकारात्मक प्रभाव परेको र शहरको समग्र स्वरूपसमेत आकर्षक नदेखिएको जनाइएको छ ।
संघका अनुसार डिभाइडरमा रोपिएका बिरुवाहरू उचित हेरचाह र व्यवस्थापन अभावमा राम्रोसँग बढ्न सकेका छैनन् । धेरै बिरुवाहरू सुक्ने वा नष्ट हुने अवस्थामा पुगेका छन्, जसका कारण सडकलाई हरियाली बनाउने उद्देश्यसमेत पूरा हुन नसकेको बताइएको छ ।
त्यसैगरी, भाँचिएका रेलिङ तथा डिभाइडरका कारण सडक वरिपरि फोहोर थुप्रिने, दुर्घटनाको जोखिम बढ्ने तथा वातावरणसमेत अव्यवस्थित देखिने समस्या बढ्दै गएको संघले जनाएको छ । यस अवस्थाले यहाँ आउने आगन्तुक तथा स्थानीय बासिन्दामा शहरप्रति नकारात्मक धारणा बन्न सक्ने खतरा रहेको पत्रमा उल्लेख छ ।
उक्त अवस्थालाई मध्यनजर गर्दै संघले सम्बन्धित निकायमार्फत ६ लेन सडकका डिभाइडरहरूको आवश्यक मर्मत–सम्भार गरी व्यवस्थित बनाउन वा व्यवस्थापन सम्भव नभए हटाई सडक क्षेत्रलाई सफा, सुरक्षित तथा आकर्षक बनाउन पहल गर्न आग्रह गरेको छ । साथै, संघले सम्बन्धित निकायबाट शीघ्र आवश्यक कदम चालिने विश्वाससमेत व्यक्त गरेको छ ।