पर्सा । पर्सागढी नगरपालिकामा एक महिलामाथि आफ्नै श्रीमानले गरेको अमानवीय तथा क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयसहित देशभर नै स्तब्धता बनाएको छ ।
ससुरासँग पैसा माग्दा नपाएको झोकमा श्रीमानले श्रीमतीको खुट्टा काटिदिएको हृदयविदारक घटना सार्वजनिक भएको हो । घटनापछि गम्भीर घाइते भएकी महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । यसै क्रममा राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको टोली अस्पताल पुगेर पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
रास्वापाका युवा नेता सुधिर पटेलकाे नेतृत्वमा क्षेत्रीय सभापति फैयाज मियाँ, बुद्धिराज पौडेल, गंगा आचार्य लगायतका प्रतिनिधिहरूले स्वास्थ्य अवस्था बुझेका हुन् । उनीहरूले चिकित्सक तथा अस्पताल प्रशासनसँग उपचार प्रक्रिया, स्वास्थ्य अवस्था तथा आवश्यक सहयोगका विषयमा छलफल गरेका थिए । अस्पताल स्रोतका अनुसार पीडितको अवस्था गम्भीर भए पनि हाल स्वास्थ्य सुधारका लागि आवश्यक प्रयास भइरहेको छ । नेताहरूले पीडितको उपचारमा कुनै कमी हुन नदिन र आवश्यक खर्च व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
घटनालाई गम्भीर आपराधिक कार्यको रूपमा लिँदै टोलीले दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरेको छ । यसका साथै यस्ता घटनाले समाजमा बढ्दो घरेलु हिंसाको भयावह अवस्थालाई उजागर गरेको भन्दै कानुनी कार्वाहीकाे माग गरेको छ । पीडित महिलालाई उचित उपचार, सुरक्षा र न्याय दिलाउन आफूहरू निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् । यसैबीच प्रहरीले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीसँग माग गरेको छ ।
घटना बारे नव निर्वाचित सांसद सुधन गुरूङ, पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु लगायतले चासो लिएका छन् ।