बागमती नगरपालिका–२ सानो डाबरीस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ९ बजे जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना १ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले ठक्कर दिँदा स्थानीय श्याम गोलेका दुई वर्षीय छोरा यनस गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बसका चालक हरिवन नगरपालिका–११ प्रगति टोल निवासी ५० वर्षीय सूर्यबहादुर थापालाई नियन्त्रणमा लिइएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको प्रहरीले जनाएको छ । घटनापछि बालकको शव घटनास्थलमै राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।