कपिलवस्तु | दुई समुदायबीच उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले महाराजगञ्ज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
शनिबार बिहान स्थानीय मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच विवाद उत्पन्न भएको थियो । विवाद क्रमशः बढ्दै गएपछि संभावित झडप रोक्न प्रशासनले तत्काल निषेधाज्ञा लागू गरेको जनाएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम भेला, सभा, जुलुस तथा प्रदर्शनलगायत गतिविधिमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
प्रशासनद्वारा जारी सूचनाअनुसार निषेधाज्ञा लागू गरिएको क्षेत्रहरूमा पूर्वतर्फ बर्गदी पुल, पश्चिमतर्फ बहादुरगञ्ज चोक, उत्तरतर्फ महाराजगञ्ज बजार क्षेत्र र दक्षिणतर्फ हर्दौना क्षेत्र समेटिएका छन् ।
प्रमुख जिल्ला अधिकारीको कार्यालयले स्थानीय बासिन्दालाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गर्दै परिस्थिति सामान्य बनाउन सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
