विश्वव्यापी रूपमा करिब ३ अर्ब ३० करोड सक्रिय प्रयोगकर्ता भएका लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले प्रयोगकर्ताका लागि नयाँ प्राइभेसी फिचर ल्याउने तयारी गरेको छ ।
हालसम्म केवल फोटो र भिडियोमा सीमित रहेको भ्यू वन्स (View Once) फिचर अब टेक्स्ट मेसेजमा पनि उपलब्ध हुनेछ । नयाँ फिचर सक्रिय भएपछि मेसेज पढ्ने बित्तिकै स्वतः डिलिट हुनेछ ।
‘अप्टर रिडिङ’ फिचर
डब्लुए बेटाइन्फोको रिपोर्ट अनुसार, ह्वाट्सएपको नयाँ बीटा संस्करणमा अप्टर रिडिङ (After Reading) नामको फिचर परीक्षणमा छ । यो फिचर हालको डिसअपीयरिङ मेसेज भन्दा फरक र उन्नत हुनेछ ।
डिसअपीयरिङ मेसेजमा २४ घण्टा, ७ दिन वा ९० दिनको विकल्प छ । तर अप्टर रिडिङ फिचरमा मेसेज पढिने बित्तिकै च्याटबक्सबाट हट्ने छ। प्रारम्भिक परीक्षणअनुसार मेसेज पढिएपछि १५ मिनेटभित्र पठाउने र पाउने दुवैको इनबक्सबाट स्थायी रूपमा मेटिनेछ । यदि मेसेज नपढिएको भए पनि २४ घण्टासम्म च्याटमा रहनेछ र त्यसपछि स्वतः डिलिट हुनेछ ।
यो सुविधा ओटीपी, पासवर्ड, बैंक डिटेल्स जस्ता गोपनीय सूचनाहरू साझा गर्दा उपयोगी हुने अपेक्षा गरिएको छ । यसले प्रयोगकर्ताले ‘डिलिट फर एभ्रिवन’ विकल्प प्रयोग गरेर म्यानुअली मेसेज हटाउनु पर्ने झन्झट कम गर्नेछ ।
आइफोन प्रयोगकर्ताका लागि इनबिल्ट अनुवाद सुविधा
साथै, मेटाले आइफोन प्रयोगकर्ताका लागि च्याट ट्रान्सलेसन फिचर परीक्षण गर्दैछ । यसमार्फत २१ भन्दा बढी भाषामा मेसेजहरू तुरुन्त अनुवाद गर्न सकिनेछ । यो प्रणाली डिभाइसमै चल्ने भएकाले प्रयोगकर्ताको गोपनीयता पनि सुरक्षित रहने बताइएको छ ।
प्रतिस्पर्धात्मक डिजिटल प्राइभेसी वातावरण
हाल डिजिटल प्राइभेसीप्रति प्रयोगकर्ताको चासो तीव्र रूपमा बढेको छ। सिग्नल र टेलिग्रामजस्ता एपहरूले सेल्फ-डिस्ट्रक्टिङ मेसेज र एन्ड-टु-एन्ड इन्क्रिप्सनलाई प्राथमिकता दिँदै आएका छन् । यही प्रतिस्पर्धात्मक वातावरणमा ह्वाट्सएपले पनि आफ्ना फिचरहरू सुरक्षित र प्रयोगकर्तामैत्री बनाउँदै लगिरहेको देखिन्छ ।
यो फिचर हाल एन्ड्रोइड बीटा संस्करण (२.२६.१२.२) मा परीक्षण भइरहेको छ । परीक्षण सफल भएमा निकट भविष्यमा सबै प्रयोगकर्ताका लागि सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।