पश्चिम एशियाली राष्ट्रहरूमा युद्धका कारण बढ्दो तनाव र पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको अभावपछि नेपाली उपभोक्ताहरू क्रमशः विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा (साउन–फागुन मसान्त) नेपालमा विभिन्न प्रकारका १ लाख ४७ हजार ८ सय ६४ वटा विद्युतीय चुलो आयात भएका छन् ।
यीमध्ये सबैभन्दा बढी माग इन्डक्सन चुलोमा देखिएको छ । सो अवधिमा १ लाख ४ हजार ७ सय १७ वटा इन्डक्सन चुलो नेपाल भित्रिएको तथ्यांकले देखाउँछ । त्यस्तै, इन्फ्रारेड चुलोको आयात पनि उल्लेख्य रहेको छ, जसअन्तर्गत ४२ हजार २ सय १८ वटा चुलो आयात भएका छन् । इन्डक्सन र इन्फ्रारेडबाहेक अन्य प्रकारका विद्युतीय चुलो भने जम्मा ९ सय २९ वटा मात्र रहेका छन् ।
आठ महिनाको अवधिमा आयात भएका चुलोको कुल मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ पुगेको छ । यसमध्ये इन्डक्सन चुलोको मूल्य २२ करोड २७ लाख ४ हजार रुपैयाँ र इन्फ्रारेड चुलोको मूल्य ७ करोड ६७ लाख ७ हजार रुपैयाँ रहेको छ ।
काठमाडौँको महाबौद्धमा विद्युतीय उपकरणको होलसेल बिक्री गर्दै आएका किरण श्रेष्ठका अनुसार, सामान्य अवस्थामा पनि चुलो बिक्री हुँदै आएको भए पनि हालको अवस्थामा यसको बिक्री ५०–७० प्रतिशतसम्म बढेको छ। उनले भने, “पहिले पनि हामीले बिक्री गर्दै आएका हौं, तर अहिले ग्यासको अभावले गर्दा इन्डक्सन र इन्फ्रारेड चुलोको माग बढी भएको छ ।”
भन्सार विभागले जनाएको छ कि यी विद्युतीय चुलोको आयातबाट सरकारले ४ करोड ३३ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।