नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणपछि कर्मचारी तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पद प्राप्तिभन्दा जिम्मेवारी पूरा गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट पारे । उनले देशले निकास खोजिरहेको वर्तमान अवस्थामा राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
“हामीले जिम्मेवारी लिएका छौँ, हाम्रो सबैभन्दा ठूलो धर्म राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापना गर्नु हो,” उनले भने, “राजनीति नै गलत हो भन्ने सन्देश प्रवाह भइरहेको अवस्थालाई सुधार्दै देशमा आशा जगाउनुपर्छ ।”
मन्त्री तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको ‘मिसन’ र ‘भिजन’ अनुसार मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कर्मचारीहरूलाई इमानदारिता र क्षमताको सदुपयोग गर्दै सामूहिक भावनाका साथ काम गर्न पनि आग्रह गरे ।
“तपाईंका हरेक विचारहरू देशका नीति–नियम र ऐनसँग बाझिने हुनुहुँदैन, जनताको सपनासँग पनि बाझिने हुनुहुँदैन । कृपया यो कुरा मनमा राखेर आफ्नो कर्तव्य अगाडि बढाउनुहोस्,” उनले भने ।
मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले मन्त्रालयका प्रमुख कार्य, नीति तथा योजना र कानुनी विषयमा मन्त्रीलाई ब्रिफिङ गरेकी थिइन् । उनले बजेट सिलिङ प्राप्त भइसकेको जानकारी दिँदै बजेट तर्जुमा र प्राथमिकता निर्धारण मन्त्रीको निर्देशनअनुसार अघि बढाइने बताइन् ।
पदभार ग्रहणका अवसरमा मन्त्रालयका कर्मचारी तथा मातहतका पदाधिकारीहरूले मन्त्री तिमिल्सिनालाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच, नवनियुक्त मन्त्री डा. तिमिल्सिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनी रास्वपाको केन्द्रीय परराष्ट्र विभागका उपप्रमुख पनि हुन् ।
अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीतिक तथा अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि (PhD) हासिल गरेका तिमिल्सिना त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गर्दै आएका थिए। उनी अनुसन्धान विशेषज्ञ तथा विश्लेषकका रूपमा पनि परिचित छन् ।
नेपालको शान्ति प्रक्रिया, परराष्ट्र नीति र भू–राजनीतिक अध्ययनमा उनको योगदान रहेको बताइन्छ। साथै, उनी ‘भ्रष्टाचारविरुद्धको लडाइँ: एन्टी करप्सन स्टडिज’ का विज्ञ मानिन्छन् र ‘एसियन इन्स्टिच्युट फर एड्भान्स रिसर्च’ का संस्थापक पनि हुन् ।