सप्तरी सदरमुकाम राजविराज को मुटुमा रहेको ऐतिहासिक राजरंगशाला अत्यन्त जिर्ण अवस्थामा पुगेको छ ।
तत्कालीन सगरमाथा अञ्चलकै एकमात्र पुरानो रंगशालाका रूपमा परिचित उक्त राजरंगशालाको प्रवेशद्वार तथा करिब सात हजार दर्शक अट्ने प्यारापिट जीर्ण भई कुनै पनि बेला ढल्न सक्ने जोखिममा पुगेको छ । बि.सं. २०३६ सालमा निर्माण गरिएको यो रंगशालाको आवश्यक मर्मतसम्भारमा सम्बन्धित निकायले चासो नदिँदा अवस्था झन् नाजुक बन्दै गएको छ ।
धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको रंगशालाको तत्काल संरक्षण आवश्यक रहेको जिल्ला फुटबल संघ सप्तरी का महासचिव रमेश श्रेष्ठ बताउँछन् । उनका अनुसार जीर्ण अवस्थाले जोखिम बढाएको मात्र होइन, मैदानभित्र फोहोर व्यवस्थापन नहुँदा खेलाडीको अभ्याससमेत प्रभावित भइरहेको छ ।
राजविराजको प्रतिष्ठासँग जोडिएको यस ऐतिहासिक संरचना बेहाल अवस्थामा हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले यसको संरक्षणमा गम्भीर बन्न आग्रह गरेका छन् ।
रंगशालाको प्यारापिटमुनी वर्षौंदेखि विभिन्न व्यक्तिहरूले अतिक्रमण गरी बसोबास गर्दै आएका छन् । सम्बन्धित निकायको बेवास्ताका कारण रंगशाला क्षेत्र अहिले दिशा–पिसाब गर्ने, गाईवस्तु चराउने तथा सवारी साधन चलाउन सिक्ने थलोका रूपमा परिणत हुँदै गएको छ ।
रंगशालाको स्तरोन्नति योजनाका लागि पटक–पटक राष्ट्रिय खेलकुद परिषद तथा खेलकुद मन्त्रालयसँग बजेट माग गरिए पनि आश्वासन मात्रै प्राप्त भएको टंक प्रसाद मण्डल ले जानकारी दिए ।
आवश्यक बजेट अभावका कारण करिब दुई बिघा सात कठ्ठा चार धुर क्षेत्रफलमा फैलिएको रंगशाला अहिले लथालिङ्ग अवस्थामा पुगेको उनको भनाइ छ ।