आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि मधेश प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । यस वर्ष प्रदेशभरबाट ८७ हजार ५९२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार प्रदेशभर २९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रहरूमा १,३१६ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन पर्याप्त जनशक्ति व्यवस्थापन पनि गरिएको छ ।
निर्देशनालयका अनुसार प्रदेशभर २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, ४,२३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक, १,६०३ जना कार्यालय सहयोगी तथा ४,४८५ जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।
जिल्लागत विवरणअनुसार धनुषा जिल्लाबाट सबैभन्दा बढी १३,२६२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्, जसमा २०३ विद्यालयका विद्यार्थी छन् । सबैभन्दा कम सप्तरी जिल्लाबाट ९,२७६ विद्यार्थी सहभागी हुनेछन्, जसमा १६२ विद्यालयका विद्यार्थी छन् ।
यसैगरी सिरहा जिल्लाबाट ११,०३८, महोत्तरीबाट ११,३५१, सर्लाहीबाट ११,३७१, रौतहटबाट ९,७७७, बाराबाट १०,८१४ र पर्साबाट १०,७०३ जना परीक्षार्थी सहभागी हुनेछन् ।
गत वर्ष २०८१ मा मधेश प्रदेशबाट ८८,८५८ विद्यार्थी एसईईमा सहभागी भएकोमा यस वर्ष १,२६७ जना कम विद्यार्थी सहभागी भएका छन् ।