बाराको सिमरामा जेनजी युथ नेपाल बाराले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ३७ जनाले रक्तदान गरेका छन् ।
शुक्रबार सिमरा बिजनेस सेन्टर परिसरमा आयोजित उक्त कार्यक्रममा १६ जना महिला सहित कुल १३७ जनाले रक्तदान गरी मानवीय सेवामा योगदान गरेका हुन् ।
रक्त सञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय युवादेखि प्रहरी अधिकारी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान गर्नेहरूमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेश, प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी नायब निरीक्षक नवराज दानी क्षेत्री लगायत सुरक्षाकर्मी तथा स्थानीय समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको आयोजकले जनाएको छ ।
रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेका अनुसार, रक्तदानबाट संकलित रगत आपतकालीन उपचार, शल्यक्रिया तथा विभिन्न रोगका बिरामीहरूको जीवनरक्षामा प्रयोग गरिनेछ । उनले समय–समयमा यस्ता रक्तदान कार्यक्रमले रक्त अभाव न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्दै जेनजी युथ नेपाल बाराका अध्यक्ष सम्राट उपाध्यायले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको यो रक्तदानले सामाजिक उत्तरदायित्व र युवाहरूको सक्रिय सहभागिता झल्काएको बताए । उनका अनुसार, आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सहभागीहरूले रक्तदानलाई “जीवनदान” को रूपमा लिनुपर्ने भन्दै नियमित रक्तदान गर्न सबैलाई आग्रह गरिएको थियो । कार्यक्रममा उपस्थित युवाहरूले उत्साहपूर्वक रक्तदान गर्दै सामाजिक सेवामा जोडिन पाउँदा खुशी व्यक्त गरेका थिए ।
स्थानीय तह, प्रहरी प्रशासन र युवाहरूको संयुक्त सहकार्यमा सम्पन्न यो रक्तदान कार्यक्रमले सिमरा क्षेत्रमा सकारात्मक सन्देश दिएको आयोजकले विश्वास व्यक्त गरेको छ ।