सर्लाही | सर्लाहीमा अवैध रूपमा ओसारपसार हुँदै गरेको काठसहित एक ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको विष्णु गाउँपालिका–२ नदियापकडीस्थित बिओपी बाराबाट स.प्र.ना.नि. टक बहादुर थापाको कमाण्डमा खटिएको पाँच जनाको टोलीले मंगलबार राति करिब ८ बजे विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा उक्त काठ बरामद गरेको हो ।
प्रहरीका अनुसार ज १ त २९४९ नम्बरको ट्याक्टरमार्फत गोडैताबाट फुलपरासीतर्फ लैजाँदै गरिएको १३६ क्युबिक फिट सिमल र गुलर जातको गोलिया काठ नियन्त्रणमा लिइएको हो । बरामद काठको मूल्य ६८ हजार ३३० रुपैयाँ रहेको छ भने ट्याक्टरको मूल्य करिब १० लाख रुपैयाँ आँकलन गरिएको छ ।
सशस्त्र प्रहरीले बरामद काठ र ट्याक्टरसहित कुल १० लाख ६८ हजार ३३० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बुधबार डिभिजन वन कार्यालय, लालबन्दी सर्लाहीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।


