सभामुख डोलप्रसाद (डिपी) अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथली क्षेत्रमा लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारबाही गरिएको हो ।
ट्राफिक प्रहरीका अनुसार सभामुख चढेको गाडीसहित त्यसको अगाडि–पछाडि रहेका अन्य दुई गाडी पनि नियम उल्लंघनमा परेका छन् । कुल तीन वटा गाडीलाई कारबाहीस्वरूप चिट काटिएको जनाइएको छ ।
लेन उल्लंघन भएपछि ट्राफिक प्रहरी सिंहदरबारसम्म पुगेको र त्यहीँ गएर चिट काटिएको स्रोतले जनाएको छ ।
सभामुख अर्यालका स्वकीय सचिव नवराज पाण्डेका अनुसार ट्राफिक नियमको पालना गर्न चालकहरूलाई पहिले नै निर्देशन दिइएको थियो । तर चालक परिवर्तन भएकाले बुधबार यस्तो घटना भएको उनले बताए ।