संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । पवित्र रमजानको अवसर पारेर विभिन्न कारणले कैद सजाय भोगिरहेका नेपाली नागरिकलाई माफी दिइएको हो ।
परराष्ट्र मन्त्रालय ले विज्ञप्ति जारी गर्दै यूएई सरकारप्रति आभार व्यक्त गरेको छ । विज्ञप्तिमा रमजानको शुभ अवसरमा नेपाली कैदीहरूलाई माफी दिइएकोमा नेपाल सरकार कृतज्ञ रहेको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार नेपाल सरकारको आग्रह तथा अबुधाबीस्थित नेपाली दूतावासको समन्वयमा उक्त आममाफी सम्भव भएको हो ।
मानवीय आधारमा गरिएको यस निर्णयले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ । साथै, परराष्ट्र मन्त्रालयले यस कदमको उच्च मूल्याङ्कन गरेको जनाएको छ ।