पर्सा प्रहरीले बिहीबार राति पटेर्वा सुगौली गाउँपालिका–४ स्थित अकवा गाउँको बाँसघारीमा ठूलो परिमाणमा लागुऔषध गाँजा र चरेस बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको यो अभियानमा बाँसघारीमा गाँजाको खरिद–बिक्री भइरहेको भन्ने जानकारी प्राप्त भएको थियो।
लागुऔषध खरिद–बिक्री भइरहेको स्थानमा शंकास्पद रूपमा लुकिरहेका कालिकामाई गाउँपालिका–१, मुडलीका ४० वर्षीय फुलसरिफ मियाँलाई प्रहरीले पक्राउ गरेको छ। मियाँको साथबाट प्रहरीले ३० किलो गाँजा बरामद गरेको छ।
पक्राउ परेका मियाँसँग गरिएको सोधपुछपछि प्रहरीले थप अनुसन्धान गरेको थियो। सोही क्रममा बासघाँरीमा खाल्डो खनेर लुकाएर राखिएको १९२ किलो चरेस र २६७ केजी गाँजाको धुलो (पोलान्ड) बरामद भएको छ।
पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले पक्राउ परेका फुलसरिफ मियाँलाई हिरासतमा राखेर लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी दिए।