पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ तीव्र रूपमा भइरहेका बेला रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परेका छन् ।
रोपाइँ गरेको करिब दुई साता बितिसक्दा पनि डिएपी, पोटास र युरिया मलको आपूर्ति नहुँदा खेतीपाती प्रभावित भएको छ ।
जिराभवानी गाउँपालिका–१ शान्तिनगरका किसान जलेश्वर दासका अनुसार नेपालमा मल नपाएपछि उनीहरूले भारतबाट महँगो मूल्यमा मल खरिद गर्न बाध्य भएका छन् । उनले प्रति बोरा (५० केजी) डिएपी करिब ४ हजार रुपैयाँमा खरिद गर्नुपरेको बताए ।
त्यस्तै, युरिया मलको मूल्य पनि अस्वाभाविक रूपमा बढेर प्रति केजी ४० रुपैयाँसम्म पुगेको किसानहरूको भनाइ छ । सामान्य अवस्थामा स्थानीय कृषि सहकारीमार्फत डिएपी करिब ५० रुपैयाँ र युरिया २० रुपैयाँ प्रति केजीमा पाइने भए पनि हाल आपूर्ति नहुँदा किसानहरू दोब्बर–तेब्बर मूल्य तिर्न बाध्य भएका छन् ।
किसान राउतले भने, “संस्थामा मल छैन, त्यसैले बजारबाट जति महँगो भए पनि किन्नुपरेको छ ।”
यसअघि नेपालमा मल अभाव हुँदा सीमापार भारतीय बजारबाट मल ल्याएर खेती व्यवस्थापन गर्ने चलन थियो । तर हाल सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरेपछि सीमापारबाट मल ल्याउनसमेत कठिन भएको किसानहरूको भनाइ छ ।
ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका तथा वीरगंजका केही वडाहरूमा चैते धान रोपाइँ सुरु भए पनि मल अभाव निरन्तर रहेको छ । किसानहरूका अनुसार रोपाइँको समयमा आवश्यक मल नपाउँदा उत्पादन घट्ने चिन्ता बढेको छ ।
गादी साना किसान कृषि सहकारी संस्था, रंगपुरका सञ्चालक हरिनारायण चौधरीका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले करिब २० दिनअघि ७५ बोरा युरिया मात्र उपलब्ध गराएको थियो । “त्यसपछि थप मल आएको छैन, डिएपी कहिले आउँछ भन्ने पनि निश्चित छैन,” उनले बताए ।
कृषि विशेषज्ञहरूका अनुसार मल अभाव लामो समयसम्म रह्यो भने चैते धानको उत्पादन २० देखि ३० प्रतिशतसम्म घट्न सक्ने जोखिम छ । यसले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्ने देखिन्छ ।
किसानहरूले सरकारप्रति असन्तुष्टि जनाउँदै एकातिर उत्पादन वृद्धि गर्न आग्रह गर्ने तर अर्कोतिर आवश्यक मल उपलब्ध नगराउने नीतिले आफूहरू संकटमा परेको बताएका छन् । साथै, सीमापारबाट मल ल्याउन कडाइ, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र उत्पादनको उचित मूल्य नपाउँदा किसानहरूको अवस्था झन् दयनीय बन्दै गएको उनीहरूको गुनासो छ ।
स्थानीय किसानहरूले तत्काल मल आपूर्ति सहज बनाउन र वितरण प्रणाली प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । उनीहरूको भनाइमा समयमै मल उपलब्ध नभए यस वर्षको चैते धान उत्पादन प्रभावित हुने निश्चित छ ।