स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ ।
मन्त्रालय र केन्द्रबीच बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा सम्झौता भएको हो । सम्झौतामा मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन् । सम्झौतापछि केन्द्रले १७ संघीय अस्पतालका बिग्रिएका उपकरणको मर्मत गर्नेछ ।
मन्त्री पौडेलले उक्त सम्झौताले अस्पतालका अव्यवस्थित उपकरणलाई पुनः प्रयोगमा ल्याउने विश्वास व्यक्त गर्दै, स्वदेशी सीपको उपयोगले उपकरण मर्मतमा कम खर्च लाग्ने बताएका छन् । केन्द्र प्रमुख पुनले राज्यले दिएको जिम्मेवारीलाई केन्द्रले सफलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
सम्झौता अनुसार, केन्द्रले १७ संघीय अस्पतालका बिग्रिएका उपकरणको विवरण संकलन गरी राष्ट्रिय आविष्कार केन्द्रलाई मर्मत गर्न दिनेछ ।