देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग ले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढी र नेपालगञ्ज मा ४३ डिग्री, भैरहवा मा ४४ डिग्री तथा काठमाडौँ मा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
विभागका मौसमविद् विनु महर्जन का अनुसार पूर्वी भूभागमा शनिबारसम्म तथा पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना रहेको छ । उनले दिउँसोको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, चिसो तथा हावादार स्थानमा बस्न, हल्का र पातलो कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन् ।
लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरू—कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही—मा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरिएको छ ।
त्यस्तै, अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरलगायत जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ ।
तातो हावा र उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखामा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ । बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।