वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु. ७९ अर्ब ५४ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा निर्यात करिब रु. १० अर्ब १९ करोड अर्थात् १५ प्रतिशतले वृद्धि भएको हो । गत आवको नौ महिनामा रु. ६९ अर्ब ३५ करोड मूल्य बराबरको निर्यात भएको थियो ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार निर्यात वृद्धि विशेषगरी प्रशोधित तेलजन्य वस्तुमा देखिएको छ । चालु आवमा रु. ४३ अर्ब ६१ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिमा रु. ३६ अर्ब ६२ करोड थियो ।
त्यसैगरी, चालु आवको नौ महिनामा रु. ५ अर्ब ८४ करोड मूल्य बराबरको फलफूलको जुस निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा रु. ५ अर्ब ७७ करोड बराबरको निर्यात भएको थियो ।
प्रशोधित पाम तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । चालु आवमा रु. ५ अर्ब २४ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ, जुन गत वर्ष सोही अवधिमा रु. ५९ करोड मात्र थियो ।
यस्तै, सूर्यमुखीको प्रशोधित तेल चालु आवमा रु. ५ अर्ब ५ करोड मूल्य बराबर निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा रु. ६ अर्ब ६१ करोड बराबरको निर्यात भएको थियो ।
कपडा निर्याततर्फ चालु आवमा रु. २ अर्ब ६९ करोड मूल्य बराबरका विभिन्न किसिमका कपडा विदेश पठाइएको छ भने रु. १ अर्ब ९४ करोड मूल्य बराबरको सिन्थेटिक यार्न निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।