सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा जग्गाको भाडादर घटाइएपछि उद्योगीहरूको आकर्षण ह्वात्तै बढेको छ । सरकारले चालु आर्थिक वर्षको पुसदेखि लागू हुनेगरी प्रतिवर्गमिटर २० रुपैयाँ रहेको भाडा घटाएर ५ रुपैयाँ कायम गरेपछि उद्योग सञ्चालनका लागि अनुमति लिन आउनेको संख्या बढेको हो ।
साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीका अनुसार भाडादर ७५ प्रतिशतले घटेपछि उद्योगीहरूको चाप अत्यधिक बढेको छ । “अहिले अनुमति लिन आउने धेरै छन्, तर दिने जग्गा छैन, सबै प्लट भाडामा गइसकेका छन्,” उनले बताए ।
सिमरा सेजको ‘ए ब्लक’मा १०५ प्लट छन्, जसको क्षेत्रफल १७ कट्ठादेखि १ बिघासम्म रहेको छ। कुल ३४३ बिघा क्षेत्रफलमध्ये बाँकी जमिनमा उद्योग मन्त्रालयले करिब ५ अर्ब रुपैयाँ लगानीमा प्रशासनिक भवन, बैंक, बीमा, भन्सार, सभाहललगायतका पूर्वाधार निर्माण गरेको छ ।
हाल ‘ए ब्लक’मा ६ वटा उद्योग सञ्चालनमा छन् भने १२ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । थप १३ उद्योगले अनुमति लिएर सम्झौता प्रक्रियामा रहेका छन् ।
सेजमा उद्योग सञ्चालन गर्न ६ महिनाको भाडा अग्रिम बुझाउनुपर्ने र एक वर्षको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । अनुमति लिएको एक वर्षभित्र संरचना निर्माण नगरे सम्झौता स्वतः खारेज हुने कानुनी प्रावधान पनि छ ।
सिमरा सेजमा भारत, चीन र कोरियाका लगानीकर्ताको पनि उल्लेख्य उपस्थिति रहेको छ । यहाँ पशुपति सेरामिक्स, लक्ष्मी ग्रेनाइट, बालाजी म्यानुफ्याक्चरिङ, नेपाल एग्रो टुल, ब्रिलिया सु प्रालि र बायो कम्प नेपाल प्रालिलगायत उद्योग सञ्चालनमा छन् ।
यीमध्ये बालाजी म्यानुफ्याक्चरिङ र नेपाल एग्रो टुलले मात्रै उत्पादन विदेश निर्यात गरिरहेका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म यी उद्योगहरूले करिब ५ करोड रुपैयाँ बराबरको वस्तु भारत निर्यात गरेका छन् ।
हाल सेजभित्र सञ्चालनमा रहेका उद्योगहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ५ हजार जनालाई रोजगारी दिएका छन् । सेज पूर्ण रूपमा सञ्चालनमा आए १० देखि १५ हजार रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
यद्यपि, उद्योगीहरूले विद्युत् आपूर्ति अनियमित हुँदा समस्या भइरहेको बताएका छन् । पशुपति सेरामिक्सका सञ्चालक तुलसी रौनियारका अनुसार विद्युत् कटौतीका कारण मासिक करिब १५ लाख रुपैयाँ डिजेलमा खर्च गर्नुपरेको छ । साथै कच्चा पदार्थ आयातमा भन्सार छुट र नीतिगत सुविधा पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो पनि गरिएको छ ।