गत वर्षको चैत महिनामा देशभर विभिन्न विपद्का घटनामा परी ३० जनाको ज्यान गएको छ भने २२२ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी प्रकोपका कारण १६ पुरुष, १० महिला र ४ जना बालबालिकाको मृत्यु भएको हो ।
विपद्का कारण १९१ घर, ११७ गोठ र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै ५२९ वटा चौपाया मरेका छन् । कुल क्षति ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबर पुगेको अनुमान गरिएको छ ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि ४ हजार ८४१ जना प्रहरी परिचालन गरिएको थियो भने १४३ जना विस्थापित भएका छन् ।
प्रदेशगत विवरण:
एक महिनाको अवधिमा सबैभन्दा बढी घटना कोशी प्रदेशमा भएका छन्, जहाँ २७२ वटा विपद्का घटना दर्ता भएका छन् ।
त्यसैगरी मधेस प्रदेशमा १३६, लुम्बिनी प्रदेशमा १२९, गण्डकी प्रदेशमा ९५, सुदूरपश्चिम प्रदेशमा ९३, बागमती प्रदेशमा ८५ र कर्णाली प्रदेशमा ५७ वटा घटना भएको तथ्यांकले देखाएको छ ।