हेटौँडा | लामो समयदेखि आर्थिक संकट झेल्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावका कारण पुनः बन्द भएको छ । गत महिना क्लिंकर उत्पादन गरेको उद्योगले आवश्यक कच्चा पदार्थ नपाएपछि उत्पादन रोक्न बाध्य भएको हो ।
उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार कोइला, ढुङ्गालगायत आवश्यक कच्चा पदार्थ अभावका कारण उत्पादन सञ्चालन गर्न नसकिएको हो । “कच्चा पदार्थ आपूर्तिका लागि सम्झौता भए पनि रकम अभाव देखाउँदै ठेकेदारले ढुवानी गर्न नसक्दा उद्योग बन्द गर्नुपरेको छ,” उनले भने ।
दैनिक करिब १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको उद्योग पछिल्लो समय निरन्तर बन्दप्रायः अवस्थामा रहेको छ । यसैबीच क्लिंकर उत्पादनका क्रममा मेसिनमा समस्या देखिएकाले मर्मत कार्यसमेत जारी रहेको जनाइएको छ ।
आर्थिक संकटका कारण उद्योगका कर्मचारीले विगत १० महिनादेखि तलब पाउन सकेका छैनन् । उद्योगमा हाल १६६ जना स्थायी, १०० जना दैनिक ज्यालादारी तथा ५२ जना सुरक्षाकर्मी कार्यरत छन् ।
विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।