सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी वीरगंज भित्रिने गरेको पाइएको छ । पर्सा र बारासँग जोडिएका खुला सीमानाकाको फाइदा उठाउँदै दैनिक साइकलमार्फत तरकारी तथा फलफूल भित्र्याइने गरिएको हो ।
वीरगंज महानगरपालिकाको नगवा, इनर्वालगायत क्षेत्र तथा बाराको विश्रामपुर गाउँपालिकासँग जोडिएका नाकाबाट साइकल चालकहरूले ‘क्यारिङ’ गर्दै दैनिक तरकारी ल्याउने गरेका छन् । यसरी भित्र्याइने तरकारी तथा फलफूलमा क्वारेन्टिन जाँच नहुँदा जनस्वास्थ्यमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलले खुला नाकाबाट जाँचबिनै भित्रिने तरकारी तथा फलफूल नियन्त्रण गर्न आवश्यक रहेको बताए । “खुला सीमानाकाको फाइदा उठाउँदै विभिन्न समूहले छपकैया, इनरुवा, विश्रामपुरलगायत स्थानबाट साइकलमार्फत दैनिक ठूलो मात्रामा तरकारी भित्र्याउने गरेका छन्,” उनले भने, “स्थानीय प्रशासन र सशस्त्र प्रहरीले यसमा ध्यान दिन जरुरी छ ।”
वीरगंजमा बिहान सबेरैदेखि नै साइकलमार्फत भारतीय तरकारी भित्र्याउने क्रम चलिरहेको छ । तर, स्थानीय प्रशासन तथा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले प्रभावकारी कारबाही गर्न सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्सार प्रक्रिया पूरा गरी क्वारेन्टिन जाँच पास गरेका तरकारी तथा फलफूल मात्र आयात गर्न पाइने स्पष्ट पारे । “क्वारेन्टिन जाँचबिनै ताजा तरकारी तथा फलफूल ल्याउन पाइँदैन,” उनले भने, “कोही कसैले ल्याएको पाइएमा अनुगमन गरी नियन्त्रणमा लिइनेछ ।”
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार पर्साको भन्दा बाराको विश्रामपुर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रबाट जाँचबिनै तरकारी भित्रिएर वीरगन्ज बजारमा पुग्ने गरेको छ ।