पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक शक्ति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै निजगढले उपाधि उचालेको हो ।
परवानीपुर खेल मैदानमा भएको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औं मिनेटमा निजगढका सन्तबहादुर गुरुङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि ५९औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
दुई गोलले पछि परेको आयोजक टोली दबाबमा देखिएको थियो । निर्धारित समयपछि थपिएको ६ मिनेटको अतिरिक्त समयमा निजगढका सृजन क्षेत्रीले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
उपाधि विजेता निजगढ फुटबल क्लबले नगद दुई लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता शक्ति युवा क्लबले एक लाख रुपैयाँ हात पारेको छ ।
प्रतियोगिताको ‘प्लेयर अफ दि सिरिज’ शक्ति युवा क्लबका कप्तान सन्दीप यादव घोषित भए । उनले पाँच हजार एक सय रुपैयाँ प्राप्त गरे ।
यसैगरी, उत्कृष्ट गोलरक्षक युनेश चौधरी, उत्कृष्ट फरवार्ड विक्रम थोकर, उत्कृष्ट मिडफिल्डर अजित चौधरी र उत्कृष्ट प्रशिक्षक निजगढका सन्तोष गुरुङ घोषित भए । उनीहरूले जनही दुई हजार एक सय रुपैयाँ प्राप्त गरेका छन् । फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ सन्तबहादुर गुरुङ घोषित भए ।
पुरस्कार वितरण कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, वीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियार, पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसिया, शक्ति युवा क्लबका अध्यक्ष सुबोध गुप्ता तथा प्रतियोगिता संयोजक संजय मण्डललगायतको उपस्थिति रहेको थियो ।