पर्सामा अवैध रूपमा ओसारपसार हुँदै गरेको साल काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ । उक्त कारबाही सबैया सब डिभिजन वन कार्यालयको टोलीले गरेको हो ।
आइतबार बिहान प्राप्त सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–३१ स्थित मिलन चोकमा सबैया सब डिभिजन वन कार्यालय र सबैया साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलीले प्रदेश २–०३–००१ त १५७५ नम्बरको ट्याक्टरसहित काठ बरामद गरेको हो ।
सो क्रममा वीरगन्ज महानगरपालिका–२९ मुसौलीका कृष्ण प्रसाद साहलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका साह तथा बरामद गरिएको काठ र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सा पठाइएको छ ।
सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकायका अनुसार बरामद गरिएको २४ फिट साल काठसहित ट्याक्टरको अनुमानित मूल्य करिब १५ लाख रुपैयाँ बराबर रहेको छ ।
हाल नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टरलाई थप अनुसन्धान र कारबाहीका लागि सब डिभिजन वन कार्यालय सबैयामा राखिएको छ ।