लहानस्थित प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. बृजेन्द्रकुमार साह सरुवा भएको तीन महिना नाघिसक्दा पनि सरुवा गरिएको स्थानमा हाजिर भएका छैनन् ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई २०८२ माघ २ गते सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेको थियो ।
आठौं तहका मेडिकल अधिकृत साह लहानकै बासिन्दा हुन् । उनले लहानमै ‘जीवन रक्षा’ नामक आफ्नै अल्ट्रासाउन्ड क्लिनिक सञ्चालन गरिरहेका छन् ।
स्थानीयवासीले सरकारी अस्पतालमा पर्याप्त समय नदिई निजी क्लिनिकमा बढी समय दिने गरेको गुनासो गरेपछि मन्त्रालयले उनको सरुवा गरेको हो । कानुनी प्रावधानअनुसार सरुवा भएको २१ दिनभित्र खटाइएको स्थानमा हाजिर हुनुपर्ने व्यवस्था छ । तीन महिनासम्म पनि हाजिर नभए बर्खास्तीसम्मको कारबाही गर्न सकिने नियम भए पनि हालसम्म डा. साहले सरुवा कार्यान्वयन गरेका छैनन् ।
तर, उनले आफ्नो घर लहानमै भएको र आवश्यक कामकाज पनि त्यहीँ हुने भएकाले सरुवा गरिएको स्थानमा नगएको बताएका छन् ।
यसबीच, उनी सरुवा आदेशको अवज्ञा गर्दै लहानमै बसेका छन् । यता, मन्त्रालयले भने तत्काल कानुनी कारबाही प्रक्रिया अघि नबढाई उनी आफैं हाजिर हुने प्रतीक्षामा रहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले डा. साह चाँडै हाजिर हुने अपेक्षा गरिएको र यदि हाजिर नभए आवश्यक कारबाही अघि बढाइने बताएका छन् ।