काठमाडौं | अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखिएको छ ।
शुक्रबार अध्यागमन विभागमा प्राप्त निवेदनका आधारमा एन्फाका २४ पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा राखिएको हो। अध्यागमन स्रोतका अनुसार, उनीहरूलाई विदेश यात्रा रोक्न पत्राचार गरिएको छ ।
स्रोतका अनुसार, कालोसूचीमा परेका व्यक्तिहरूले विदेश यात्रा गर्न खोजेमा सम्बन्धित निकायलाई अध्यागमन विभागले जानकारी गराउने व्यवस्था गरिएको छ ।
पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फाबीच विभिन्न विषयमा विवाद चुलिँदै गएको छ । एन्फाले परिषदको निर्देशन विपरीत निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै राखेपले तीन महिनाका लागि निलम्बन गरेको थियो ।
त्यसैगरी एन्फामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि खेलकुद मन्त्रालयमा पनि पत्राचार भएको थियो। त्यसपछि राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको थियो ।
उक्त उपसमितिले आर्थिक अनियमितताको विषयमा थप छानबिन आवश्यक रहेको भन्दै एन्फा पदाधिकारीहरूको विदेश यात्रा रोक्न पासपोर्ट कालोसूचीमा राख्ने सिफारिस गरेको बताइएको छ ।
यस निर्णयपछि एन्फाको प्रस्तावित क्यानडा भ्रमण समेत अनिश्चित बनेको छ ।