पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद रमेश रिजालका स्वकीय सचिवबाट युवा नेता राकेश यादवले राजीनामा दिएका छन् ।
यादवले व्यक्तिगत कारणले उक्त पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा पत्रमा यादवले स्वकीय सचिवको भूमिकामा रहँदा धेरै अनुभव बटुल्ने मौका पाएको र देश-विदेशको राजनीतिक, आर्थिक, र सामाजिक परिवेशबारे जानकारी लिने अवसर पाएको उल्लेख गरेका छन् । उनले देशको राजनीतिक परिदृश्यलाई नजिकबाट नियाल्ने मौका पनि पाएको बताएका छन् ।
राजनीतिक जीवनमा पर्सा निर्वाचन क्षेत्र नं. २ र कर्म क्षेत्र निर्वाचन क्षेत्र ४ लाई आधार बनाएर काम गर्दा सांसद रिजालको साथ र सहयोग पाएकोले अब आउने स्थानीय चुनावमा बहुदरामाई नगरपालिकामा उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गर्दै जनसेवा अभियानमा लागेको यादवले जनाएका छन् ।
यादवले मिसन २०८४ अन्तर्गत एकपल्ट मेयरको उम्मेदवार बनेर जनताको माग अनुसार मात्र दोस्रोपल्ट प्रदेश सांसद र तेस्रोपल्ट संघीय सांसदको यात्रा पूरा गरेर राजनीतिक जीवनलाई विराम दिने योजना बनाएको पनि खुलासा गरेका छन् । उनले यो प्रक्रिया पूरा गर्दा आफ्नो उमेर ५५ वर्ष पुग्ने र राजनीतिक नैतिकता कायम रहेमा मात्र यसलाई निरन्तरता दिने अन्यथा संन्यास लिने निर्णय गरेको बताएका छन् ।
आउने स्थानीय चुनावमा युवालाई प्राथमिकतामा राख्दै टिकट दिने, आर्थिक सहयोग गर्ने, र भोट दिलाएर अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।