कार्तिक शुक्लपक्ष पूर्णिमाको अवसरमा पर्सा र बाराका सातवटा वनदेवी स्थलमा यस वर्ष पनि ऐतिहासिक तथा धार्मिक मेला लाग्ने भएको छ । सोमबार साँझदेखि सुरु हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
पर्सा जिल्लाका पाँच र बारा जिल्लाका दुई गरी सातवटा वनदेवी स्थलमा एकैसाथ मेला आयोजना हुन लागेको हो । पर्साको पर्सागढी नगरपालिका–स्थित आमोदेवी माई र कोइलाभार माई, ठोरी गाउँपालिकास्थित बागमोर्चा माई, जिराभवानी गाउँपालिकास्थित सुगिभार माई तथा पटेर्वासुगौली गाउँपालिकास्थित गादीमाईमा मेला लाग्नेछ ।
त्यसैगरी बाराको करैयामाई र चोइलाभार माईमा पनि धार्मिक मेला आयोजना हुनेछ ।
स्थानीय धार्मिक जनविश्वासअनुसार वनदेवी मातालाई सात दिदीबहिनीका रूपमा पूजाआजा गरिँदै आएको छ । सातै दिदीबहिनीका मन्दिर राष्ट्रिय वन क्षेत्रभित्र रहेका छन्। परापूर्वकालदेखि कार्तिक शुक्लपक्ष पूर्णिमाको अवसरमा यी स्थलमा मेला लाग्दै आएको परम्परा छ। सोमबार साँझदेखि सुरु हुने मेला मंगलबार पूर्णिमाको दिन मध्याह्नसम्म सञ्चालन हुनेछ ।
पूर्णिमाको दिन बिहानैदेखि सातै देवी स्थलमा पशुबलि दिने परम्परा रहेको छ । आमोदेवी माईको मन्दिरमा पर्सागढी नगरपालिका–४ बकनेर्वाका मुसहर समुदायले गाउँमाला पूजा गरी पाठाको बलि दिएपछि मात्रै सर्वसाधारणका लागि पशुबलि चढाउने परम्परा रहेको मन्दिरका गुरु जुगेश्वर गुरोले बताउनुभयो ।
त्यस्तै, कोइलाभार माईको मेलाको तयारी पनि अन्तिम चरणमा पुगेको छ। यस वर्ष मेला ठेक्कामार्फत सञ्चालन गर्न लागिएको पर्सागढी नगरपालिका–१ का वडाध्यक्ष राजकपुर खवासले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार साँझदेखि मेला सुरु हुनेछ । मंगलबार पूर्णिमाको दिन बिहान सखुवाप्रसौनी गाउँपालिका–१ औराहाका प्रयाग महतोको घरबाट पहिलो पशुबलि चढाइनेछ। त्यसपछि सर्वसाधारणका लागि पशुबलि चढाउन खुला गरिने उहाँले बताउनुभयो ।
आयोजकका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेला अवधिमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिनेछ । पर्सा र बारासहित नेपालका विभिन्न स्थान तथा भारतबाट समेत हजारौँ श्रद्धालु तथा दर्शनार्थी मेला भर्न आउने गरेका छन् ।
सुरक्षा घेराभित्रै जुवातास सञ्चालन हुने गरेको स्थानीयको आरोप
धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका यी मेलामा वर्षौंदेखि जुवातास खेलाउने परम्परा पनि रोकिएको छैन । विशेषगरी पर्सागढी नगरपालिकाका आमोदेवी माई र कोइलाभार माई, पटेर्वासुगौलीको गादीमाई तथा जिराभवानीको सुगिभार माई मेला स्थलमा रातभर सुरक्षा घेराभित्रै जुवा खेलाइने गरेको स्थानीयको आरोप छ ।
प्रहरीले मेला क्षेत्रमा जुवातास खेलाउन नदिने दाबी गर्दै आए पनि प्रत्येक वर्ष मेलाको राति ठूलो परिमाणमा जुवा हुने गरेको स्थानीय बताउँछन् । धार्मिक मेलाको आडमा जुवा सञ्चालन हुने गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्दै आएका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक विपन कार्कीले मेला आयोजक समितिहरूलाई जुवा नखेलाउन र खेल्न नदिन स्पष्ट निर्देशन दिइसकिएको बताउनुभयो । मेलामा जुवा खेलाएको पाइए कानुनअनुसार कारबाही गरिने उहाँको भनाइ छ ।
मेलालाई शान्तिपूर्ण र सुरक्षित बनाउन पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने पनि उहाँले जानकारी दिनुभयो ।
धार्मिक आस्था, परम्परा र ऐतिहासिक पहिचानसँग जोडिएका यी मेलालाई व्यवस्थित र मर्यादित बनाउन आयोजक तथा सुरक्षा निकायले जुवातास नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने स्थानीयको अपेक्षा छ ।