तनहुँमा भएको बस दुर्घटनामा १४ भारतीय पर्यटकको मृत्यु भएको छ भने १५ जना घाइतेकाे उद्धार गरिएकाे छ ।
शुक्रबार बिहान आबुखैरनीस्थित ऐनापहरा छेउबाट बस मर्स्याङ्दी नदीमा खस्दा उक्त दुर्घटना भएको हो । यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं जाँदै गर्दा तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो। बस नदी किनारमा कच्याककुचुक भएको अवस्थामा फेला परेको छ ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ । उद्धारमा खटिएका प्रहरी अधिकारीका अनुसार अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १५ जना घाइतेको उद्धार गरिएको छ । उक्त बसमा ४० जना भारतीय पर्यटक सवार थिए ।
उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जनाको टोली र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली परिचालन गरिएको छ ।