बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड लाइसेन्स) को मौज्दात तथा वितरणसम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ ।
कार्यालयका अनुसार अनलाइन वा अन्य माध्यमबाट लाइसेन्सको अवस्था जाँच गर्दा ‘प्रिन्ट’ भइसकेको देखिए पनि ती स्मार्ट कार्डहरू हालसम्म भौतिक रूपमा कार्यालयमा आइपुगेका छैनन् ।
लाइसेन्स प्रिन्ट भएको जानकारी पाएपछि सेवाग्राहीहरू कार्यालयमा आउने क्रम बढेपछि कार्यालयले यस विषयमा स्पष्टिकरण दिएको हो ।
कार्यालयले जानकारी गराएअनुसार सम्बन्धित विभागबाट स्मार्ट कार्डहरू अझै ढुवानी भई नसकेको हुँदा सेवाग्राहीहरूले कार्ड लिन कार्यालय धाउनुअघि आफ्नो लाइसेन्स उपलब्ध भए/नभएको यकिन गर्न अनुरोध गरिएको छ ।
सेवाग्राहीको सहजताका लागि कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज “Yatayat karyalaya Kalaiya” मार्फत नियमित रूपमा अद्यावधिक विवरण सार्वजनिक गर्ने जनाएको छ । साथै, अनावश्यक झन्झटबाट बच्न उक्त पेजमा प्रकाशित नामावली वा विवरण हेरेर मात्र कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।