हेटौंडामा सञ्चालन भएको नगर कप भलिबल प्रतियोगितामा महिलातर्फ हेटौंडा उपमहानगरपालिका–५ र पुरुषतर्फ हेटौंडा उपमहानगरपालिका–१९ च्याम्पियन बनेका छन् ।
मंगलबार भएको महिलातर्फको फाइनल खेलमा हेटौंडा–५ ले वडा नं १२ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । वडा–५ ले वडा–१२ लाई २५–१७, २५–२२ र २५–४ को सोझो सेटमा हराउँदै उपाधि सहित ५० हजार रुपैयाँ जितेको हो । उपविजेता वडा १२ ले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ । महिलातर्फ हेटौंडाका ७ वटा वडाले प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी पुरुषतर्फ हेटौंडा उपमहानगरपालिका–१९ ले वडा ११ लाई ३–२ को सेटमा स्तब्ध बनाएको हो । वडा १९ ले वडा ११ लाई २५–२३, २०–२५, २५–१९, ९–२५, २५–१० को सेटमा हराएको हो । पुरुषतर्फको फाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक बनेको थियो । पुरुषतर्फ १० वटा वडाको सहभागिता थियो । पुरुषतर्फको विजेता हेटौंडा– १९ ले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता हेटौंडा–११ ले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिताका विजेता, उपविजेता र विधागत उत्कृष्टलाई हेटौंडा–११ का वडाध्यक्ष जुना दाहाल, १९ का वडाध्यक्ष नरराज सुवेदी, ५ का वडाध्यक्ष सुशील घिमिरे, आयोजक लगायतले पुरस्कार वितरण गरेका थिए । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजना तथा हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । हेटौंडा–४ हुप्रचौरमा वैशाख १२ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।