आर्थिक अभावका कारण विवाह खर्च जुटाउन नसकेका दुई विपन्न परिवारका कन्याको विवाहका लागि विभिन्न सामग्री तथा नगद सहयोग प्रदान गरिएको छ ।
पटेर्वा सुगौली गाउँपालिका–४, सुगौली निवासी स्वर्गीय पल्ट राम र माता लालमुनी रामकी छोरी कुमारी सिताको विवाह पर्सा जिल्ला बहुदरमाई नगरपालिका–५, बर्वा निवासी कमलेश रामसँग तय भएको थियो । बुवाको निधनपछि परिवारमा आमाबाहेक आम्दानी गर्ने कोही नभएकाले विवाह खर्च जुटाउन कठिनाइ भइरहेको अवस्थामा उक्त विषय उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीसमक्ष पुगेको थियो ।
त्यसपछि संस्थाले विवाहका लागि आवश्यक सामग्रीहरू व्यवस्थापन गर्दै चामल ६० किलो, दाल ५ किलो, आलु २० किलो, सोयाबिन २ किलो, साडी ३ थान, घाघरा–चोली १ सेट तथा नगद सहयोग उपलब्ध गराएको जनाएको छ । उक्त सामग्री संस्थाकी अध्यक्ष विद्या देवी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले हस्तान्तरण गरेका थिए ।
यस्तै, भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला अन्तर्गत रामगढवा मछली बजार निवासी स्वर्गीय बालदेव साह कलवारकी छोरी कुमारी मुस्कानको विवाह बाराको विश्रामपुर गाउँपालिका–४, बलिरामपुर निवासी हजारी साह कलवारका छोरा मुकेश कुमार गुप्तासँग तय भएको थियो । बुवाको निधनपछि आमाबाहेक परिवारमा कमाउने सदस्य नभएकाले उनी पनि विवाह खर्च जुटाउन असमर्थ थिइन् ।
उक्त अवस्थाबारे जानकारी पाएपछि उपकार सेवा नेपालले मुस्कानका लागि पनि चामल ६० किलो, साडी १ थान, सलवार–सुट १ सेट, तन्ना १ थान, चिउरा १० किलो, नून ५ किलो, चना ५ किलो, खाने तेल ४ किलो तथा मसला लगायतका सामग्री सहयोग गरेको छ । उक्त सामग्री पनि सम्बन्धित परिवारलाई बोलाएर हस्तान्तरण गरिएको जनाइएको छ ।