नेपाल भारत सीमामा हालै गरिएको कडाइका कारण छिमेकी भारतीय बजार रक्सौलमा नेपाली ग्राहकहरूको आवतजावत निकै रूपमा घटेको छ । यसअघि वीरगंज, जीतपुर, सिमरा, पथलैया, निजगढ, हेटौंडा, नारायणघाट, पोखरा र काठमाडौंसम्मका उपभोक्ताहरूको प्रमुख किनमेल गन्तव्य बनेको रक्सौल बजार अहिले सुनसानजस्तै देखिन थालेको छ ।
सरकारले वैशाख २ गतेदेखि भन्सार नियमलाई कडाइका साथ कार्यान्वयन गर्दै सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था लागू गरेपछि सीमा क्षेत्रको व्यापारिक गतिविधिमा असर परेको हो । यसअघि खुला सीमा र कमजोर निगरानीका कारण दैनिक रूपमा हजारौं नेपाली उपभोक्ता रक्सौल पुग्ने गरेका थिए । तर अहिले निगरानी बढेपछि ग्राहक सङ्ख्या ह्वात्तै घटेको व्यापारीहरूको भनाइ छ ।
रक्सौल बजारमा नेपाली उपभोक्ताहरूले विशेषगरी खाद्यान्न, कपडा, इलेक्ट्रोनिक सामग्री, कृषि सामग्री, मल तथा बीउबिजन जस्ता वस्तु खरिद गर्ने गरेका थिए । खुला सीमाको फाइदा उठाउँदै सानो परिमाणमा सामान ढुवानी गर्ने तथा अनौपचारिक व्यापार समेत व्यापक रूपमा हुने गरेको थियो । सुरक्षा निगरानी कमजोर हुँदा तस्करी समेत बढेको आरोप स्थानीय स्तरमा लाग्दै आएको थियो ।
अहिले सीमामा कडाइ बढेपछि यस्ता अनौपचारिक कारोबारहरू अधिकांश रूपमा रोकिएका छन्, जसको प्रत्यक्ष असर रक्सौलका व्यापारीहरूमा परेको छ । नेपाली ग्राहकमा निर्भर व्यवसायीहरू अहिले ग्राहकको प्रतीक्षामा बस्न बाध्य भएका छन् । बिक्री घटेसँगै आर्थिक संकट झेल्नुपरेको उनीहरूको गुनासो छ ।
यता नेपालतर्फ वीरगञ्ज बजार पनि आन्तरिक कारणले प्रभावित बनेको छ । वैशाख ६ गतेदेखि मुख्य सडक विस्तारको क्रममा डोजर चलाइएपछि बजार क्षेत्र अस्तव्यस्त बनेको छ । सडक विस्तारका कारण धेरै व्यापारी विस्थापित भएका छन् भने केहीले अस्थायी रूपमा व्यापार सञ्चालन गरिरहेका छन् ।
मुख्य सडक आसपासका व्यापारीहरू फसेको पूँजी निकाल्न सस्तो मूल्यमा सामान बिक्री गर्न बाध्य भएका छन् । निर्माण कार्यले बजार क्षेत्र अस्तव्यस्त बनेपछि व्यापार जोखिमपूर्ण बनेको उनीहरूको भनाइ छ ।
सीमा कडाइ र आन्तरिक संरचनागत परिवर्तनका कारण दुवैतर्फको व्यापारमा नकारात्मक प्रभाव परेको देखिएको छ। एकातर्फ रक्सौलमा ग्राहक अभाव छ भने अर्कोतर्फ वीरगंज बजार निर्माण कार्यका कारण अस्थिर बनेको छ । यसले समग्र सीमावर्ती अर्थतन्त्रमा असर पारेको स्थानीय व्यवसायीहरूको भनाइ रहेकाे छ ।