वीरगंज महानगरपालिकाले बाख्राको मासुलाई खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बिक्री वितरण गर्ने मासु पसलेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
केही दिनयता वीरगंजका विभिन्न मासु पसलहरूमा बाख्राको मासुलाई खसीको मासु भन्दै बिक्री भइरहेको भन्दै व्यापक जनगुनासो आएपछि महानगरपालिकाले यस्तो कदम चालेको हो । बिहीबार महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले विज्ञप्ति जारी गर्दै यस्तो कार्य नगर्न/नगराउन आग्रह गरेको छ । यदि यस्ता गतिविधि गरेको पाइएमा सम्बन्धित पसलेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा महानगरपालिकाले केही मासु पसलहरूबाट बाख्राको मासुलाई खसी वा बोकाको मासु भनी भ्रामक तरिकाले बिक्री भइरहेको जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उपभोक्ताको अधिकार संरक्षण, खाद्य स्वच्छता तथा व्यापारिक आचारसंहिता कायम राख्नु सबै व्यवसायीको दायित्व भएको उल्लेख गर्दै महानगरपालिकाले मासुको सही पहिचान खुलाएर पारदर्शी रूपमा मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, कुनै पनि किसिमको गलत सूचना, मिसावट वा भ्रामक गतिविधि नगर्न कडाइका साथ निर्देशन दिँदै उल्लङ्घन गरे कानुनबमोजिम कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।