वीरगंज महानगरपालिकाका केही वडासहित पर्सा जिल्लाका विभिन्न स्थानीय तहहरूमा पछिल्लो समय खानेपानीको अभाव देखिन थालेको छ ।
महानगर आसपासका क्षेत्रमा घरघरमा जडान गरिएका धाराहरू सुक्न थालेपछि सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । पछिल्ला दुई वर्षदेखि देखिएको पानी अभाव न्यूनीकरणका लागि विभिन्न स्थानमा जडान गरिएका डीप बोरिङहरू मर्मत तथा नियमित हेरचाहको अभावमा क्रमशः निष्क्रिय बन्दै गएका छन् ।
कतिपय डीप बोरिङ पूर्ण रूपमा सञ्चालनविहीन अवस्थामा पुगेका छन् । समूहमार्फत सञ्चालन गरिएका डीप बोरिङहरू भने नियमित हेरचाहका कारण तुलनात्मक रूपमा राम्रो अवस्थामा रहेका छन् । स्थानीय बासिन्दाका अनुसार प्रारम्भिक चरणमा डीप बोरिङ सञ्चालन भएपछि केही राहत मिलेको भए पनि दीर्घकालीन व्यवस्थापन अभावका कारण समस्या पुनः दोहोरिएको हो ।
वीरगंज महानगरपालिका–१६ का एक स्थानीयले धाराबाट पानी आपूर्ति बन्दप्रायः भएको गुनासो गरेका छन् । यस्तै, वडा नं. ११ श्रीपुरका स्थानीय प्रशान्त दुबेले सम्बन्धित निकायको उदासीनताप्रति असन्तोष व्यक्त गर्दै समयमै मर्मत तथा अनुगमन नहुँदा समस्या झन् जटिल बनेको बताएका छन् । उनका अनुसार पूर्वाधार निर्माणसँगै यसको नियमित सञ्चालन र संरक्षणमा समेत उत्तिकै ध्यान दिन आवश्यक छ ।
स्थानीयवासीहरूले तत्काल डीप बोरिङहरूको मर्मत, वैकल्पिक खानेपानी व्यवस्थाको सुनिश्चितता तथा दीर्घकालीन योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । समयमै प्रभावकारी पहल नगरे समस्या अझ भयावह बन्न सक्ने चेतावनीसमेत दिएका छन् । तथापि, अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष समस्या अत्यधिक विकराल भने बनेको छैन ।
महानगरका इन्जिनीयर राकेश साहका अनुसार यस वर्ष खानेपानीको समस्या त्यति गम्भीर रूपमा नदेखिएको बताएका छन् । उनले चापाकल सुक्ने क्रम जारी रहे पनि डीप बोरिङहरूको पर्याप्तताले केही हदसम्म समस्या टारेको जानकारी दिए ।
त्यस्तै, केही वडाध्यक्षहरूले समुदायमा सञ्चालन गरिएका डीप बोरिङहरू राम्रो अवस्थामा रहेको तर व्यक्तिगत रूपमा जथाभावी सञ्चालन गरिएका बोरिङहरूमा मर्मत अभावका कारण समस्या देखिएको बताएका छन् । उनीहरूका अनुसार समुदायस्तरमा मासिक शुल्क संकलन, सीमित समय (बिहान र बेलुकी तीन/तीन घण्टा) सञ्चालन तथा प्राविधिक जनशक्ति परिचालन गरिएका बोरिङहरूमा समस्या कम देखिएको छ ।