नक्कली सरकारी कागजात तयार गरी ठूलो परिमाणमा प्रतिबन्धित छोकडा आयात गर्न खोजेको आरोपमा वीरगंजका व्यवसायी नविनकुमार अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वीरगंज महानगरपालिका–११ आदर्शनगरबाट उनलाई नियन्त्रणमा लिएको हो ।
सीआईबीका अनुसार पक्राउ परेका अग्रवाल सिमभिन इन्टरनेसनल इम्पेक्स, कालिकास्थान काठमाडौंका सञ्चालक हुन् । उनको स्थायी ठेगाना वीरगंज–११ रहेको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानका अनुसार अग्रवालले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटरहेड, छाप तथा तत्कालीन महानिर्देशकको नाम र हस्ताक्षर दुरुपयोग गरी करिब १०० टन छोकडा आयात गर्ने झूटा अनुमति पत्र तयार पारेका थिए । उक्त नक्कली कागजातको आधारमा उनले वीरगञ्ज भन्सार कार्यालयमा सामान जाँचपास गराउने प्रयास गरेको खुलेको सीआईबीले जनाएको छ ।
यता स्राेतका अनुसार नविन अग्रवालका नातामा पर्ने नेपालमा सुन तस्करीमा कुख्यात मानिएका भारतिय नागरिक विमल पोदारले उनि मार्फत फर्म दर्ता गर्न लगाई उनलाई भरियाको रुपमा प्रयोग गरीरहेको जनाएकाे छ । स्राेतका अनुसार पोदारका नातेदार पर्ने अग्रवाल आदर्शनगरस्थित रूंगटा मार्केट भित्र इलेक्ट्रीक पसल सञ्चालन गरिरहेका साना व्यावसायी हुन् ।
स्रोतका अनुसार भन्सार कार्यालयमा सामान आइपुगेपछि कागजातमाथि शंका लागेपछि विभागमा जानकारी गराइएको थियो । प्रारम्भिक छानबिनपछि उक्त अनुमति पत्र नक्कली भएको पुष्टि भएको थियाे । सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवबहादुर श्रेष्ठका अनुसार भन्सार कार्यालयको सूचनापछि अनुसन्धान अघि बढाइएको थियो । “सामान भन्सारमा आएको अवस्थामा शंका लागेपछि विभागमा जानकारी गराएकाे थियो । त्यसपछि कागजात किर्ते भएको पुष्टि भएर भन्सार कार्यालयले उक्त प्रतिबन्धित सामान जफत गरेको प्रहरीले जनाएको छ ।
नेपाल सरकारले निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार २०७६ चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै अर्को आदेश नभएसम्मका लागि छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियाे । तर, सो प्रतिबन्धको उल्लङ्घन गर्दै ठूलो परिमाणमा आयात प्रयास गर्ने क्रममा उनि पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेका नविन अग्रवालविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ अन्तर्गत लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । यसका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिइएको सीआईबीले जनाएको छ । प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिहरूको संलग्नता छ वा छैन भन्नेबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
पछिल्ला वर्षहरूमा प्रतिबन्धित वस्तुहरूलाई नक्कली कागजातमार्फत भित्र्याउने प्रयासका घटना बढ्दै गएको देखिएको छ, जसलाई नियन्त्रण गर्न बालेन सरकारले सम्बन्धित निकायलाई निगरानी कडा बनाउन आदेश दिएकाे छ ।