जेनजी सहिदहरूको स्मृतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगंजमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
वीरगंजको घण्टाघरस्थित क्लासिक ब्यान्क्वेटमा आज बिहानदेखि सुरु भएको कार्यक्रममा हालसम्म ६० जनाभन्दा बढीले रक्तदान गरेका छन् । कार्यक्रममा युवादेखि विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिहरूको सक्रिय सहभागिता देखिएको छ ।
कार्यक्रममा रास्वपा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरि पन्तको विशेष उपस्थिति रहेको थियो । साथै नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेललगायत विभिन्न क्षेत्रका भद्र महिला तथा पुरुषहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।
रक्तदान जस्तो मानवसेवामूलक कार्यमार्फत सहिदहरूको सम्झना गर्नु महत्वपूर्ण रहेको भन्दै आयोजकले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।