जनकपुरधाम | मधेश प्रदेश प्रहरी कार्यालयले लागु औषध सेवन तथा कारोबार नियन्त्रणका लागि ‘लागु औषध सेवनकर्ता खोजी एवं सुधार महा-अभियान २०८३’ सुरु गरेको छ ।
प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुख तथा मातहत एकाइहरूलाई ब्रिफिङ गर्दै प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलिया ले अभियानको औपचारिक सुरुवात भएको जानकारी दिएका हुन् ।
अभियानअन्तर्गत सीमावर्ती नाकाहरूमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिनेछ । ती केन्द्रहरूमा ड्रग टेस्ट किट प्रयोग गरी आवतजावत गर्ने व्यक्तिहरूको लागु औषध सेवन अवस्था परीक्षण गरिने प्रहरीले जनाएको छ । विशेषगरी सीमाबाट नियमित आवतजावत गर्ने युवायुवतीहरूको तथ्यांक संकलन गरी निगरानी कडा पारिनेछ ।
यस्तै, लागु औषध सेवनकर्तालाई सीमाक्षेत्रमै एक घण्टे सचेतनामूलक अडियो–भिजुअल प्रशिक्षण दिइनेछ । उनीहरूको विस्तृत अभिलेख तयार पारेर आवश्यक परे जीपीएस ट्र्याकिङसमेत गर्ने व्यवस्था मिलाइने अभियानमा उल्लेख छ ।
प्रहरीका अनुसार अभियानमा प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न सरकारी र गैरसरकारी संघसंस्थासँग समन्वय गरी काम गरिनेछ । लागु औषध प्रयोगकर्तालाई सुधार तथा उपचारमार्फत समाजमा पुनःस्थापना गर्न खेलकुद, मनोरञ्जन, सीपमूलक तालिम र रोजगारी लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
त्यसैगरी, लागु औषध ओसारपसार तथा कारोबारमा संलग्न औषधि पसल, गोदाम तथा अन्य स्थानहरूको निगरानी कडा पारिनेछ । मुख्य कारोबारीहरूको पहिचान गरी उनीहरूविरुद्ध कडा कानुनी कारबाही अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ ।
प्रदेश प्रहरी कार्यालयले प्रदेश सरकारको समन्वय, स्थानीय तहको सक्रिय सहभागिता तथा सरोकारवाला निकायहरूसँगको सहकार्यमा अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ ।