जनकपुरधामस्थित एक निजी अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएपछि उनका आफन्त आन्दोलित बनेका छन् ।
घटनापछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो भने सुरक्षा व्यवस्था मिलाउन प्रहरीले परिचालन गरिएको थियो । महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरी निवासी ३६ वर्षीया रागनी देवी पासवानको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार बैशाख १६ गते साँझ पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि अवस्था सामान्य रहेको बताइए पनि शुक्रबार बिहान करिब ३ बजे उनको मृत्यु भएको जनाइएको छ । तर, मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा विरोध तथा तोडफोडसमेत गरेका छन् ।
मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मीको सल्लाहमा बैशाख ७ गते परीक्षणका लागि अस्पताल ल्याइएको थियो । उनका अनुसार बैशाख १६ गते १ लाख २५ हजार रुपैयाँमा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्ने सहमति भएको थियो । तर, सहमतिभन्दा फरक रूपमा पेट चिरेर शल्यक्रिया गरिएको र त्यसै कारण मृत्यु भएको परिवारको आरोप छ । ‘प्वाल पारेर अप्रेसन गर्ने भनेपछि सहमति दिएका थियौं, तर पेट चिरेर गरियो,’ दयाराम पासवानले बताए । उनले दोषी चिकित्सक र अस्पतालमाथि कारबाही तथा क्षतिपूर्ति माग गरेका छन् ।
यता, शल्यक्रियामा संलग्न सर्जन डा. अमरेश कर्णले भने बिरामीको अवस्थाअनुसार परिवारको सहमतिमै चिरुवा विधि अपनाइएको दाबी गरेका छन् । उनका अनुसार युरेटरमा १३.७ एमएमको पत्थरी देखिएपछि जोखिमलाई ध्यानमा राख्दै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको र जनरल वार्डमा सार्ने तयारी भइरहेको बेला अचानक रक्तचाप घटेर मृत्यु भएको उनले बताए ।
उनले उपचारमा कुनै लापरवाही नभएको दाबी गरेका छन् । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनका तीन सन्तान रहेको बताइएको छ । यसैबीच, पीडित परिवार र अस्पतालबीच सहमति भएपछि स्थिति नियन्त्रणमा आएको छ । अस्पतालले १ लाख रुपैयाँ क्षतिपूर्ति र ८० हजार रुपैयाँ उपचार खर्च मिनाहा गर्ने सहमति गरेपछि परिवारजनले शव बुझेर घर फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेको कमान्डमा खटिएको टोलीले अस्पताल र पीडित परिवारबीच वार्ता गराई सहमति जुटाएको हो ।