ठोरी गाउँपालिका–१ मा आज “जनता को घरदैलोमा डाक्टर” कार्यक्रम सम्पन्न भएको छ ।
प्रभु हस्पिटल वीरगञ्जको सहकार्य र नागरिक समाज ठोरीको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा १५९ महिला र १०० पुरुष गरी जम्मा २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । साथै सुगर किटमार्फत सुगर जाँच तथा निःशुल्क औषधि वितरणसमेत गरिएको छ । अस्पतालसम्म पुग्न नसक्ने गरिब, विपन्न तथा पहुँचविहीन बिरामीलाई घरदैलोमै स्वास्थ्य सेवा, उपचार र परामर्श दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय सन्तोष श्रेष्ठको समन्वय रहेको थियो भने प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सांसद टेक बहादुर शाक्य उपस्थित थिए । प्रभु हस्पिटल वीरगञ्जका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रयास तिमल्सिना र डा. सुरुची श्रेष्ठले स्वास्थ्य सेवा प्रदान गरेका थिए । कार्यक्रम प्रमुख दिलिप राज कार्कीले हस्पिटल व्यवसायिक मात्र नभई सेवा–मुखी पनि हुनुपर्ने भन्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सांसद टेक बहादुर शाक्यले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ठोरी गाउँपालिकाकी अध्यक्ष तथा विशिष्ट अतिथि गोकुली रेग्मीले दुर्गम क्षेत्रका नागरिकका लागि यस्ता कार्यक्रम आवश्यक रहेको भन्दै पालिकाले आवश्यक सहयोग र समन्वय गर्ने बताइन् ।
यसै क्रममा ठोरी–१ स्थित वृद्धाश्रममा औषधि सहयोग तथा १६ जना आमा–बुवाको स्वास्थ्य परामर्श पनि गरिएको छ।