लेखक दिवसको अवसर पारेर नेपाली लेखक सङ्घ पर्सा शाखाले कथाकार विनयराज गौतमको नयाँ कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ सार्वजनिक गरेको छ ।
कार्यक्रम वीरगंजस्थित बीपीसी कलेजको ट्रेनिङ हलमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता नेपाली लेखक सङ्घकी उपाध्यक्ष उमा मिश्रले गर्नुभएको थियो भने वरिष्ठ साहित्यकार माधवप्रसाद गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, वरिष्ठ पत्रकार जगदीश शर्मा, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य तथा समीक्षक गोपाल अश्क र नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विश्वम्भरकुमार शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो । त्यसपछि अतिथिहरूले संयुक्त रूपमा कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ को लोकार्पण गरेका थिए । लेखक विनयराज गौतमले आफ्नो साहित्यिक यात्रा, कथासङ्ग्रहको पृष्ठभूमि तथा कृतिका विशेषताबारे जानकारी गराएका थिए । सहभागी वक्ताहरूले उक्त कथासङ्ग्रहले नेपाली साहित्यमा नयाँ विमर्श थप्ने विश्वास व्यक्त गर्दै लेखकलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रमोद पाण्डेय ‘हेरम्ब’ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सिता शर्मा पन्थीले गरेकी थिइन् ।