जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
शनिबार साँझ जारी बुलेटिनअनुसार हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ । यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार शनिबार राति लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, आइतबार राति पनि लुम्बिनी प्रदेशकै पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । पर्सी सोमबार भने कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
मौसमविद्हरूले सम्भावित वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।