सर्लाही | सर्लाही जिल्लामा पहिलो पटक मिर्गौला (किड्नी) डायलासिस सेवा सुरु भएको छ। ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित नगर अस्पतालमा डायलासिस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
सेवाको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गलीलाल राय ले शुक्रबार गर्नुभएको हो । यस सेवासँगै यस क्षेत्रका मिर्गौला रोगीहरूलाई अब बर्दिवास, जनकपुर, वीरगन्ज, भरतपुर तथा काठमाडौँसम्म जानुपर्ने बाध्यता अन्त्य भएको छ । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्य का अनुसार पूर्व संघीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको कार्यकालमा मन्त्रालयबाट प्राप्त दुई थान डायलासिस मेसिनमार्फत सेवा सुरु गरिएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत सुगेन्द्र महतो ले संघीय सरकारको प्राविधिक तथा सञ्चालन खर्च सहयोगका लागि कम्तीमा पाँचवटा मेसिन आवश्यक पर्ने प्रावधान रहेको जानकारी दिनुभयो । हाल दुई मेसिनबाट दैनिक दुई जनालाई मात्र सेवा दिन सकिने अवस्था रहेको छ । नगरपालिकाले थप तीन थान डायलासिस मेसिन ल्याएर सेवा पूर्ण रूपमा सञ्चालन गर्न मधेश प्रदेश सरकारसँग पहल गरिरहेको जनाएको छ । कार्यक्रममा मन्त्री रायले आवश्यक तीन मेसिन तथा प्राविधिक सहयोग प्रदेश सरकारबाट उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री रायले प्रदेश सरकारले साना योजनाभन्दा नागरिकलाई प्रत्यक्ष लाभ हुने ठूला योजनामा बजेट केन्द्रित गर्ने नीति लिएको बताउनुभयो । साथै, कर्मचारीतन्त्रको ढिलासुस्ती र फाइल अल्झाउने प्रवृत्तिले काममा बाधा पुगेको गुनासो पनि उहाँले व्यक्त गर्नुभयो ।
सेवा सञ्चालनका लागि नगरपालिकाले स्वास्थ्यकर्मी नियुक्त गर्नुका साथै तालिमसमेत प्रदान गरेको छ । डायलासिस असिस्टेन्टका रूपमा सुस्मिता सिंह नियुक्त भएकी छन् भने डा. दीर्घनारायण दास र स्टाफ नर्स ममता साहलाई तालिम दिइएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकावासीलाई डायलासिस सेवा निःशुल्क उपलब्ध गराइनेछ भने अन्य पालिकाका सेवाग्राहीबाट प्रतिपटक २ हजार ५०० रुपैयाँ शुल्क लिइनेछ । आवश्यक रगत आपूर्तिका लागि प्रादेशिक अस्पताल मलङ्गवास्थित ब्लड बैंकसँग समन्वय गरिनेछ ।
मन्त्री रायले नगर अस्पतालमै ब्लड बैंक स्थापना गर्न यसै वर्ष बजेट व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । जिल्लामै पहिलो पटक डायलासिस सेवा सुरु हुनु स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।