महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले चालु क्रसिङ सिजन २०८२/८३ का लागि खरिद गरिएको उखुको अधिकांश भुक्तानी सम्पन्न गरेको जनाएको छ ।
मिलका अनुसार यस सिजनमा ११ हजार ८१८ किसानबाट २८ लाख ५३ हजार १७९ क्विन्टल उखु खरिद गरिएको थियो । उक्त उखुबाट दुई लाख ६१ हजार ७३८ क्विन्टल चिनी उत्पादन भएको जनाएको छ । मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार खरिद गरिएको उखुको कुल एक अर्ब ७६ करोड ४२ लाख ५५ हजार रुपैयाँ किसानहरूको बैंक खातामा भुक्तानी गरिएको छ। मिलले महोत्तरी, सर्लाही र धनुषाका किसानबाट उखु खरिद गरेको थियो। यस वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रुपैयाँ निर्धारण गरेपछि मिल गेटमा ६२० रुपैयाँ र खरिद केन्द्रमा ५९५ रुपैयाँ प्रतिक्विन्टलका दरले भुक्तानी गरिएको उनले बताए ।
यद्यपि बैंकिङ प्रक्रिया नमिल्दा १३ जना किसानको करिब तीन लाख ७० हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । ती किसानसँग सम्पर्क भइरहेको र आवश्यक विवरण प्राप्त हुनासाथ भुक्तानी गरिने मिलले जनाएको छ ।
उखु खेतीमा गिरावट देखिएपछि मिलले अघिल्लो सिजन २०८०/८१ देखि उखु खरिद गरेको एक साताभित्रै भुक्तानी दिने नीति लागू गरेको थियो । समयमै भुक्तानी हुँदा उत्पादन वृद्धि हुने अपेक्षा गरिए पनि यस वर्ष लक्ष्यअनुसार उत्पादन हुन सकेन । गत वर्ष १२ हजार पाँच बिघामा गरिएको उखु खेतीको तुलनामा यस वर्ष उत्पादन करिब चार लाख क्विन्टलले कम भएको छ ।
उखु उत्पादक कृषक महासङ्घका केन्द्रीय सदस्य महाशङ्कर थिङले समयमै भुक्तानी सकारात्मक भए पनि न्यूनतम समर्थन मूल्य नबढाएसम्म उत्पादन वृद्धि सम्भव नहुने बताएका छन् । उनका अनुसार वर्तमान महँगी र उत्पादन लागतका आधारमा प्रतिक्विन्टल ७५० रुपैयाँ समर्थन मूल्य आवश्यक छ ।
यसअघि सरकारले उखुमा दिँदै आएको ७० रुपैयाँ अनुदान घटाएर ३५ रुपैयाँमा झारेपछि किसानले आन्दोलन गरेका थिए । पछि सरकारले पुनः ७० रुपैयाँ अनुदान कायम गरे पनि समर्थन मूल्य ६२० रुपैयाँ मात्र निर्धारण गरिएकाले उत्पादनमा असर परेको किसान नेताहरूको भनाइ छ ।
उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बजार मूल्य र उत्पादन लागतबीचको असन्तुलनलाई वैज्ञानिक रूपमा मूल्याङ्कन गरी दीर्घकालीन समाधान निकाल्नुपर्ने आवश्यकता औँल्याएका छन् ।