मधेश प्रदेशका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्या तीव्र रूपमा बढ्दै गएको छ ।
प्रहरी तथ्यांक अनुसार प्रदेशभर हुने सवारी दुर्घटनामध्ये अधिकांशमा मोटरसाइकल संलग्न देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म कुल ८ हजार ६२४ सवारी दुर्घटनामध्ये ५ हजार ९७५ वटा मोटरसाइकल दुर्घटना भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिएका छन् ।
उनका अनुसार सबैभन्दा बढी दुर्घटना धनुषा जिल्लामा भएको छ, जहाँ मात्र १ हजार ४८ वटा मोटरसाइकल दुर्घटना दर्ता भएका छन् ।
यसअघि गत आर्थिक वर्ष २०८१/८२ मा कुल १० हजार ६७९ सवारी दुर्घटनामध्ये ७ हजार २०१ वटा मोटरसाइकल दुर्घटना भएका थिए । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ५२९ दुर्घटनामध्ये ५ हजार ९२६ र २०७९/८० मा ८ हजार ३७६ दुर्घटनामध्ये ५ हजार ७४५ मोटरसाइकल दुर्घटना भएको प्रहरी तथ्यांकले देखाएको छ ।
प्रहरीका अनुसार तीव्र गति, हेलमेटको प्रयोगमा लापरवाही, ट्राफिक नियम उल्लंघन र सडक सुरक्षाप्रति बेवास्ता दुर्घटनाको प्रमुख कारणका रूपमा देखिएका छन् ।
मधेश प्रदेशमा दुईपाङ्ग्रे सवारीको अत्यधिक प्रयोगसँगै दुर्घटनाको जोखिम पनि निरन्तर बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले सचेत रहन आग्रह गरेको छ ।