मधेश प्रदेशमा राजनीतिक सरगर्मी बढेको छ । यसै साता सरकार परिवर्तन हुने संकेत देखिएको छ भने नयाँ सत्ता समीकरण बनाउन दलहरूबीच तीव्र छलफल भइरहेको छ ।
उच्च स्रोतका अनुसार नेपाली कांग्रेसलाई बाहिर राखेर नयाँ सरकार गठनको तयारी भइरहेको छ । हालका मुख्यमन्त्री कृष्ण प्रसाद यादव लाई पदच्युत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । स्रोतका अनुसार नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी र नेकपा एमाले बीच सहकार्य हुने देखिएको छ । यद्यपि सरकारको नेतृत्व भने अन्य दलले गर्ने सम्भावना रहेको जनाइएको छ ।
मधेश प्रदेश सभामा हाल १ सय जना सांसद कायम रहेका छन्, जसमा सरकार गठनका लागि कम्तीमा ५४ सांसद आवश्यक पर्छ । प्रस्तावित नयाँ समीकरणमा जसपा नेपाल (२६), एमाले (२४) र जनमत पार्टी (१२) गरी ६२ सांसदको समर्थन जुट्ने दाबी गरिएको छ । यसैबीच नेपाली कांग्रेस भित्रै पनि मुख्यमन्त्री यादवविरुद्ध असन्तुष्टि बढेको बताइएको छ । कांग्रेसका केही सांसदले विपक्षीसँग सहकार्य गरेर सरकार परिवर्तनमा भूमिका खेल्न सक्ने चर्चा छ ।
हालको सरकारमा सहभागी रहेका केही दलहरू नयाँ सरकारमा नजाने संकेत गरेका छन् । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ले एमाले सहभागी सरकारमा नजाने धारणा सार्वजनिक गरेका छन् । राजनीतिक वृत्तमा मुख्यमन्त्री यादव नेतृत्वको सरकारमाथि कार्यसम्पादन कमजोर भएको, भ्रष्टाचार र कमिसनमुखी प्रवृत्ति बढेको आरोप लाग्दै आएको छ । बजेट कार्यान्वयन र विकास निर्माणमा समेत सुस्तता देखिएको भन्दै आलोचना बढेको छ ।
यदि वर्तमान समीकरण अनुसार सहमति कायम रहे, यसै साता प्रदेशसभामा बहुमत परीक्षणको प्रक्रिया अघि बढ्ने र नयाँ सरकार गठन हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।