जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट ट्राफिक प्रहरीले २१ किलो लागूऔषध गाँजासहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
मादक पदार्थ सेवन (मापसे) जाँचका लागि खटिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र प्रहरी चौकीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–११ छतिवन घर भई राक्सिराङ–७ बस्ने १९ वर्षीय सुरेन्द्र कुँवर तथा स्कुटरमा सवार राक्सिराङ गाउँपालिका–७ का १९ वर्षीय सलमान गुरुङ रहेका छन् ।
मापसे जाँचका लागि रोक्न खोज्दा उनीहरूले भाग्ने प्रयास गरेपछि संयुक्त प्रहरी टोलीले बागमती प्रदेश ०३–००३प ५७६४ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको हो । जाँचका क्रममा स्कुटरमा रहेका दुई वटा झोलाबाट लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रवक्ता तथा ट्राफिक प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहका अनुसार बरामद गाँजासहित दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाइएको छ ।