मधेस प्रदेशमा पछिल्ला केही वर्षयता लागुऔषध दुर्व्यसन गम्भीर सामाजिक समस्याको रूपमा देखा परेको छ । विशेषगरी भारतसँगको खुला सीमाका कारण लागुऔषध भित्रिने क्रम बढ्दै जाँदा यसको प्रत्यक्ष असर युवापुस्तामा परेको देखिएको छ ।
गाउँदेखि सहरसम्मका युवा दुर्व्यसनमा फस्दै जाँदा परिवार र समाज चिन्तित बनेका छन् । यही अवस्थालाई ध्यानमा राख्दै मधेस प्रदेश प्रहरी कार्यालय ले लागुऔषध नियन्त्रणसँगै सेवनकर्ताको सुधार र पुनर्स्थापनालाई केन्द्रमा राखेर ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३’ सुरु गरेको छ ।
प्रदेश प्रहरीका सूचना अधिकारी कमल थापाका अनुसार यस अभियानको उद्देश्य लागुऔषध सेवनकर्तालाई पक्राउ गरेर कारबाही गर्नु मात्र नभई उनीहरूको पहिचान गरी सुधार केन्द्रसम्म पुर्याउनु र समाजमा पुनःस्थापित गर्नु हो । उनका अनुसार लागुऔषध समस्या अब कानुनी मात्र नभई सामाजिक र मानसिक समस्याको रूपमा फैलिँदै गएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले अभियान प्रभावकारी बनाउन आठ वटै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । उनका अनुसार अब परम्परागत मात्र नभई पहिचान, निगरानी, नियन्त्रण र सुधारलाई सँगै अघि बढाइनेछ ।
मधेस प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सिराहा र पर्सा लगायत सीमावर्ती जिल्लामा लागुऔषधको समस्या बढी देखिएको छ । खुला सीमाका कारण अनधिकृत बाटो प्रयोग गरी लागुऔषध भित्रिने गरेको प्रहरीको निष्कर्ष छ ।
महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार विद्यालय र कलेज उमेरका किशोरकिशोरी बढी प्रभावित छन् । उनका अनुसार ड्रग टेस्टिङ चेकपोइन्ट स्थापना गर्ने तयारीसमेत भइरहेको छ ।
धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार सीमापार तस्करी नियन्त्रणका लागि भारतीय सुरक्षा निकायसँग समन्वय र सूचना आदानप्रदान बढाइएको छ ।
तर स्थानीयवासीहरूले प्रहरी प्रयास मात्र पर्याप्त नहुने बताएका छन् । पिपरा गाउँपालिका–७ का रुदल झा र धनुषाकी भुली देवीले सरकारी निःशुल्क उपचार तथा सुधार केन्द्रको व्यवस्था आवश्यक रहेको बताएका छन् ।
स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । मनरा नगरपालिकाका मेयर मोहन पाण्डेका अनुसार विद्यालय, क्लब र संघसंस्थामार्फत सचेतना कार्यक्रम चलाइएको छ ।
मनोविज्ञ डा. रोबिन कुमार झाका अनुसार लागुऔषध समस्या समाधानका लागि प्रहरी, परिवार, समाज र मानसिक स्वास्थ्य सेवाको संयुक्त प्रयास आवश्यक छ ।
यसैबीच, मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले लागुऔषध नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गरिने र सुधार तथा पुनर्स्थापनाका कार्यक्रम विस्तार गरिने बताएका छन् ।