सिराहा | आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसको नेतृत्वले विधि मिचेर शासन गर्न खोजेको आरोप लगाएका छन् । उनले यस्तो प्रवृत्ति नेपाली जनतालाई अस्वीकार्य हुने चेतावनी दिएका छन् ।
आइतबार सिराहाको गोलबजारमा आयोजित पार्टीको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साहले प्रधानमन्त्री बालेन्द्र शाहले बल प्रयोगमार्फत शासन लम्ब्याउन खोजेको संकेत देखिएको टिप्पणी गरे । उनले संसद् छलेर अध्यादेशमार्फत शासन गर्नु संसदीय लोकतन्त्रको उपहास भएको उल्लेख गर्दै जननिर्वाचित सर्वोच्च थलो संसद्को सर्वोच्चता कायम गर्नुपर्नेमा जोड दिए ।
साहले विगतमा केपी शर्मा ओलीले अध्यादेशमार्फत शासन गर्न खोज्दा र संसद्को अपमान गर्दा व्यहोर्नुपरेको राजनीतिक क्षतिको स्मरण गर्न पनि वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वलाई सुझाव दिए ।
उनले नेपाली जनताले कांग्रेस, एमाले र नेकपाजस्ता पुराना दलहरूको दलतन्त्र र नेतातन्त्रविरुद्ध अभूतपूर्व जनमत दिएर नयाँ शक्तिलाई अवसर दिएको स्मरण गराउँदै वर्तमान सरकारले उक्त जनमतको सदुपयोग गर्न नसकेको आरोप लगाए ।
त्यस्तै, बालेन शाहप्रति लक्षित गर्दै उनले सुरुवातमै देखिएको हतारो र असन्तुलित निर्णयले सरकारलाई समस्यातर्फ धकेल्ने खतरा रहेको बताए । “धैर्यता नदेखिँदा दुई तिहाइ बहुमत नै धरापमा पर्न सक्छ,” उनले भने, “जताततै हात हाल्दा सरकार असफलताको बाटोतर्फ उन्मुख भएको संकेत देखिएको छ ।”
साहले सुकुमबासी बस्ती खाली गराउने विषयमा नेपाली सेनालाई परिचालन गरिएकोप्रति पनि आपत्ति जनाउँदै यस्तो कदमले संवेदनशील सामाजिक समस्या झन् जटिल बन्न सक्ने धारणा व्यक्त गरे ।