जनकपुरधाम | चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालले आगामी जेठ १ गतेदेखि मेची–महाकाली जनजागरण तथा हस्ताक्षर अभियान यात्रा सुरु गर्ने घोषणा गरेको छ ।
चुरे क्षेत्रको संरक्षण र प्राकृतिक स्रोतको रक्षा गर्ने उद्देश्यसहित देशव्यापी अभियान सञ्चालन गर्न लागिएको अभियानले जनाएको छ । चुरे तथा प्राकृतिक स्रोतको संरक्षणका लागि निरन्तर संघर्ष गर्दै आएको यस अभियानले चुरे क्षेत्रको विनाश रोक्न तथा राज्यलाई दबाब दिन यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताएको छ । अभियानका अध्यक्ष सुनिल यादवका अनुसार चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी सञ्चालन र वन विनाशका कारण तराई–मधेश क्षेत्र मरुभूमीकरण हुने खतरा बढ्दै गएको छ। सोही कारण यो अभियान सुरु गर्न लागिएको उहाँले बताउनुभयो।
अभियानको मुख्य माग तथा एजेन्डामा चुरे क्षेत्रमा भइरहेको अवैध गिट्टी–बालुवा उत्खनन र क्रसर उद्योग नियन्त्रण, अतिक्रमित नदीनालाको संरक्षण, प्रदूषण नियन्त्रण, वनजङ्गल फँडानी रोकथाम तथा जडीबुटीको अवैध दोहनमा रोक लगाउने विषय समावेश छन् ।
अध्यक्ष यादवले “प्रकृति जोगाऔँ, भविष्य बचाऔँ” भन्ने मूल नारासहित सुरु हुने यस यात्राले तराई, पहाड र हिमालबीचको वातावरणीय सन्तुलन कायम राख्दै राष्ट्रिय एकताको आह्वान गर्ने बताउनुभयो । उहाँले यस अभियानमा तराई–मधेशका युवा, विद्यार्थी, जेन्जी पुस्ता, राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज तथा सञ्चारकर्मीलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ ।
यसअघि पनि सो अभियानले सप्तरीदेखि काठमाडौंसम्म पैदल यात्रा तथा काठमाडौंको माइतीघर मण्डलामा महिनौँसम्म धर्ना कार्यक्रम सम्पन्न गरिसकेको छ ।